सत्यको प्रतीकका रूपमा ‘अनन्ते पर्व’ सुरु
बाजुरा। सत्यको विजयको प्रतीकका रूपमा मानिने मौलिक र सांस्कृतिक पर्व अनन्ते पर्व भदौ शुक्ल पूर्णिमा अर्थात् आइतबार देखि विधिवत् रूपमा सुरु भएको छ।

सुदूरपश्चिममा दशैं–तिहार पछिको दोस्रो ठूलो पर्वका रूपमा मानिने अनन्ते मेला बाजुरा, बझाङ, डोटी, दार्चुला लगायतका जिल्लामा मात्र होइन, पछिल्ला वर्षमा तराईका केही स्थानमा समेत मनाइने परम्परा बढ्दो छ।
बाजुरामा सदरमुकाम मार्तडीसहित विभिन्न गाउँ–टोलमा परम्परागत शैलीमा धुमधामका साथ पर्व मनाउन थालिएको छ। विशेषगरी मार्तडीको मालिका मन्दिर नजिकैको अनन्त्या ठाउँमा लाग्ने मेलामा स्थानीयवासीहरू रातदिन परम्परागत पोशाकमा सजिएर मिजुरा नाच्दै र समूहगत रूपमा “अनन्ते खेल्दै” रमाउने गर्छन्।

सत्यको विजयको सम्झनामा मनाइने यो पर्वले स्थानीय लोकसंस्कृति र जिल्लाको पहिचानलाई अझ मजबुत बनाएको स्थानीयको भनाइ छ। बाजुराको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा यो पर्व तीनदेखि चार दिनसम्म निरन्तर रूपमा गीत, नृत्य र धार्मिक विधिसहित मनाइने परम्परा रहेको छ।अनन्ते पर्वको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।अनन्ते मेलालाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षा समेत मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्