सर्वोच्चको फैसला कार्यान्वयन गर्न सामाजिक सञ्जाल बन्द : प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा अध्यक्ष ओलीले सरकारले सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्न दिएको आदेश पालना गरेको स्पष्ट पार्नुभयो ।
सरकार राष्ट्र हितको पक्षमा अडिग रहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष ओलीले नेपाली जनताहरू बरु भोकै बस्न तयार भएको तर राष्ट्रियतामाथि कसैले हेपेको सहन नसक्ने बताउनुभयो ।
महाधिवेशनको तेस्रो दिन आज पार्टी उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमाथिको समूहगत प्रस्तुतीकरणपछि सम्बन्धित नेताहरूले उठेका प्रश्नको जवाफ दिनुभएको छ ।
एमाले पार्टीको विधानमा रहेको दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने व्यवस्थासहितको विधान मस्यौदामा शतप्रतिशत प्रतिनिधिको समर्थन रहेको एमाले उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन नमिल्ने व्यवस्था पार्टीको विधानमै समेट्न सुझाव दिएको जानकारी दिनुभयो ।
महाधिवेशनको अन्तिम दिन आज अन्त्यमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य दिनुहुने र त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन समापन गरिने एमालेले जनाएको छ ।
जारी एमाले विधान महाधिवेशनले एमाले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि आजै सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने कार्यसूची रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्