हैजाको प्रकोप नियन्त्रणमा, २ सय ५७ जना अस्पतालबाट डिस्चार्ज

वीरगंज । वीरगंजमा समुदाय स्तरमा फैलिएको झाडापखाला र हैजाको प्रकोप नियन्त्रणमा लिन अभियान तीव्र रुपमा चलिरहेको छ ।
जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ सम्म २ सय ५७ जना झाडा पखाला तथा हैजाबाट संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका छन् ।
गत शुक्रवारदेखि आज साँझ सम्म ५ सय २८ जना बिरामी अस्पताल भर्ना भएका छन् । भर्ना भएकामध्ये २ सय ७१ जना अझै उपचाररत छन् । तीमध्ये १ सय ३२ जनालाई हैजाको संक्रमण देखिएको छ ।
हैजाको संक्रमण देखिएका ५६ जना उपचार पछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने ७६ जना हैजा सङ्क्रमितको अझै अस्पतालहरूमा उपचार भइरहेको छ ।
वीरगंजको नारायणी अस्पताल सहित १४ वटा अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये ३९ जनाको अवस्था गम्भीर रहेको छ । जसमध्ये ३५ जनाको आइसियुमा र ४ जनाको एचडियु कक्षमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्