तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा चौरचन पर्व मनाइँदै, गणेश चौठीको विशेष तयारी

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज श्रद्धा भक्ति पूर्वक चौरचन पर्व तथा गणेश चौठी पर्व मनाइदैछ । घर घरमा चौरचनमा प्रसादको रूपमा आवश्यक पर्ने पिडुकीया, खजुरी, मिष्टान्न सहितका परिकारहरू मिथिलानीहरु बिहान देखि नै तयारी पारिरहेका छन् ।

oplus_2

साँझ तीर उदाउँदो चन्द्रमा तथा गणेशको विधि पूर्वक पूजा आराधना गरेर फलफूल मिष्टान्न, दही, नरिवल सहितका सामाग्रीहरू हातमा लिएर दर्शन गर्ने चलन रहेको छ । घरका मूल महिलाले दिनभरि निराहार रहेर आफै वा परिवारका अन्य सदस्यले तयार पारेको खीर, पुरी, केला, सहितका परिकारहरू आँगन वा छतको कौसीमा शुद्ध एवं चोखो गरिएको ठाउँमा अरिपन गरेर त्यस माथि केराको पातमा प्रसाद राखेर गणेश तथा चन्द्रमाको पूजा गर्दछन् ।

यस पर्वमा प्रयोग हुने प्रसादहरू डालामा राखेर घरका एक एक सदस्यले हातमा लिई चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ । आजको दिनमा फलफूल, दही, नरिवल सहित सामाग्रीहरू हातमा लिएर मात्र दर्शन गर्ने चलन रहेको छ ।

आजको दिनमा चन्द्रमालाई दर्शन गरेको खण्डमा मिथ्या आरोपबाट मुक्ति मिल्नुका साथै परिवार जनको सुख शान्ति तथा समृद्धि हासिल हुने जनविश्वास रहेको छ । चन्द्रमाको विशेष पूजापछि घरका सदस्यहरू, इष्टमित्र तथा आफन्त जनहरूलाई प्रसादको रूपमा वितरण गर्ने चलन रहेको छ ।

प्रसाद वितरणपछि व्रतीहरू पनि उपवास खोल्ने चलन रहेको छ । कतिपय व्रतीहरू यस पटक तीजका व्रत पनि गरेकाले भोली मात्र अन्न जल ग्रहण गर्ने कार्यक्रम रहेको छ । तीजमा पनि २४ घण्टा उपवास गर्ने चलन रहेको छ । यता जनकपुरधाममा गणेश चौठीको पूजाको विशेष तयारी गरिएको छ ।

यसैबिच, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चौरचन पर्व र गणेश चतुर्थी पर्वको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै  सांस्कृतिक पहिचानको रूपमा चित्रण गर्दै यस पर्वले एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यम भएको  बताउनुभएको छ ।

सन्देशमा उहाँले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button