तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर अस्पतालमा अतिरिक्त समयमा शल्यक्रिया सेवा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुन सुरुआत गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो । नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो । यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उहाँले जानकारी दिनुभयो ।

गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताउनुभयो । सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ । अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा पोखरेलले विस्तारित सेवामार्फत उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताउनुभयो ।

अस्पतालमा न्यूरो (नसा), हेड एण्ड नेक (नाक–कान–घाँटी), थोरासिस (छाती) जिआई (पेट) ब्रेस्ट (स्तन), युरोलोजि (मूत्रासय), गाइनोलोजी (पाठेघर), अर्थाेपेडिक्स (हाडजोर्नी), प्लाष्टिक शल्यक्रिया हुने गर्दछ । तीमध्ये प्लाष्टिकबाहेकका सबै शल्यक्रिया विस्तारित सेवामा हुनेछन् ।

कार्यकारी निर्देशक डा पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामीमध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष चार हजार शल्यक्रिया गरिएको थियो ।

सन् २०२३ मा बहिरङ्ग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या एक लाख ६२ हजार थियो । सन् २०२४ को तथ्याङ्क आइनसके पनि निरन्तर बिरामीको सङ्ख्या बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button