तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने

पाटन (ललितपुर) । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा आज जावलाखेलमा आयोजित एसइई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताउनुभयो । 

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “तपाईँ निजी विद्यालय सञ्चालकहरू पनि स्थानीय तह मातहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ ।” 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जिपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताउनुभयो । 

प्याब्सनका केन्द्रीय संरक्षक एवं जेम्स स्कुलका संस्थापक राजेश खड्काले अभिभावक र विद्यार्थीको अथक प्रयासबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको भन्दै यो मेहनत र लगनशीलतालाई उच्चशिक्षामा पनि निरन्तरता दिन सम्मानित विद्यार्थीलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button