तपाईँ सुन्दै हुनुहुन्छः

भिन्न घटनामा दुई जनाको मृत्यु

बनियानी। झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यसैगरी, शुक्रबार कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेपछि स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि श्रेष्ठलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई अहिले अस्पतालमै राखिएको छभने मोटरसाइकल चालक ५१ वर्षीय मानकुमार सुवेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button