चाडपर्वहरूको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिलासम्बन्धी धेरै हक अधिकारको व्यवस्था भइसकेको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिलासम्बन्धी धेरै हक अधिकारको व्यवस्था भइसकेकोले अब प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने बताउनुभयो ।
विगतका दिनमा असार साउनमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भदौ महिनामा पर्ने तीज पर्व आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गर्दै घरमा पाएका दुःख, कष्टका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्ने बताउनुभयो ।

प्रथम महिला सविता पौडेलको आयोजना रहेको कार्यक्रममा सरकारका मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी तथा प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, सरकारका उच्च पदस्थ महिला कर्मचारीहरू, महिला अधिकारकर्मीहरू, विभिन्न पेशामा आबद्ध महिलाहरू लगायतको उपस्थिति रहेको थियो ।
यस अवसरमा राष्ट्रपति कार्यालयमा कार्यरत महिला कर्मचारीहरू, सुरक्षाकर्मीहरूले तीज गीत, नृत्य एवं कविता प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्