‘अनलाइन बाल यौन शोषण रोक्न सामूहिक प्रयास अपरिहार्य’

मकवानपुर । अनलाइनमार्फत हुने बाल यौन शोषण रोक्न परिवार, समाज र राज्य सबैको संयुक्त प्रयास अपरिहार्य रहेको बुधवार हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बाल अधिकारका क्षेत्रमा क्रियाशील संस्था सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
बढ्दो अनलाइन यौन शोषण तथा दुर्व्यवहारका घटना प्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसलाई रोक्न अभिभावक, विद्यालय, समाज, गैरसरकारी संस्था र राज्य सबैको साझा जिम्मेवारी र सामूहिक प्रयास हुनुपर्ने बताएका छन् ।
इन्टरनेटमा बालबालिकाले कलिलै उमेरमा पहुँच पाउँदा उनीहरू गम्भीर जोखिमको नजिक पुगेको भन्दै सहभागीको सकेसम्म सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकालाई टाढा राख्नुपर्ने बताएका छन् । उनीहरूले अनलाइन यौन शोषण तथा दुर्व्यवहारका घटना रोक्न विशेष गरी समुदाय र परिवार तहमा साइबर सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थीले अनलाइनमार्फत हुने बाल यौन शोषणको समस्या नेपालमा तीव्र गतिमा बढिरहेको बताउनुभयो ।
साइबर ब्युरोको तथ्याङ्क सार्वजनिक गर्दै उहाँले पछिल्ला वर्षहरूमा अनलाइनमार्फत हुने बाल यौन शोषण सम्बन्धी मुद्दामा चाँडै वृद्धि भएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, २०७५÷७६ मा १० मात्र दर्ता भएका नाबालिका पीडितसम्बन्धी मुद्दा २०८१÷८२ सम्म आइपुग्दा ७ सय नाघिसकेको छ । महिला नाबालिका बढी पीडित बनेका छन् भने पुरुष नाबालक पीडितहरूको सङ्ख्यामा पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय वृद्धि भएको छ ।
प्रहरी उपरीक्षक अवस्थीले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार २०७६/७७ मा ८८, २०७७/७८ मा १५२, २०७८/७९ मा १४२, २०७९/८० मा १३०, २०८०/८१ मा ३८२ र २०८१/८२ मा ७७२ नाबालिका सम्बन्धी मुद्दा दर्ता भएका छन् । यसमध्ये महिलाको सङ्ख्या बढी भए पनि पुरुष पीडितको सङ्ख्यामा पनि हाल तीव्र वृद्धि भएको छ । प्रतिवेदनमा अनलाइन शोषणका स्वरूपमा बाल अश्लील सामग्री उत्पादन र वितरण, ग्रुमिङ (फकाएर प्रेम सम्बन्धमा ल्याउने), वेबक्याम वा च्याटमार्फत प्रत्यक्ष प्रसारण, अश्लील सन्देश आदानप्रदान प्रमुख रहेको छ । यस्ता गतिविधि प्रायः सामाजिक सञ्जाल, च्याटरुम र मेसेजिङ एपमार्फत हुने गरेको बताइएको छ ।
प्रहरी उपरीक्षक अवस्थीको प्रतिवेदनमा अनलाइन शोषणका कारण बालबालिका दीर्घकालीन मानसिक आघातमा पर्ने उल्लेख छ । लज्जा, अपराध बोध, डर र आत्महत्याको प्रवृत्ति देखिनुका साथै धेरैले पढाइ छोड्ने वा समाजसँग टाढा हुने गरेको पाइन्छ ।
साइबर ब्युरोका अनुसार, कतिपय अवस्थामा पीडितले परिवार वा प्रहरीलाई भन्न नसक्दा अपराधीले अझ सजिलै शोषण गर्ने वातावरण समेत बनेको छ ।
उहाँले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा समावेश केही घटनाले समस्या कति गहिरो छ भन्ने देखाउँछन् । उदाहरणका लागि, मलेसियामा बस्ने २२ वर्षीय युवकले सामाजिक सञ्जालमार्फत नेपाली नाबालिकालाई शोषण गरे र अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । नवलपरासीमा ११ वर्षीया बालिकालाई प्रयोग गरी छिमेकीले अश्लील सामग्री उत्पादन गरे । पोखरामा हाडनाताकै २२ वर्षीय युवकले आफ्नी फुपूको छोरीलाई अनलाइनमै शोषण गरेर सामग्री सेयर गरेपछि पक्राउ परे ।
प्रहरी उपरीक्षक अवस्थाकी अनुसार नेपालमा अनलाइन यौन शोषण तथा दुर्व्यवहारका घटना रोक्न कानुनी प्रावधान र चुनौती समेत रहेको बताउनुभयो ।
नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ ले बाल यौन शोषणलाई अपराधको रूपमा परिभाषित गरेको छ । दोषीलाई कैददेखि जरिवानासम्मको सजाय हुने व्यवस्था भए पनि प्रविधिजन्य जटिलता, सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग, सीमापार अपराध र अनुसन्धानका लागि स्रोतको कमीलाई उहाँले प्रमुख चुनौतीका रूपमा औँल्याउनुभएको छ ।
त्यसैले, अनलाइन बाल यौन शोषण अब केवल अपराध मात्र नभई सामाजिक सङ्कट बनेको भन्दै यसलाई रोक्न परिवार, समाज र राज्य सबैको सामूहिक प्रयास अपरिहार्य रहेको समेत प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका विभिन्न स्थानीय तहका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधिहरू, महिला तथा बालबालिका शाखाका कर्मचारी, जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि, प्रहरी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता रहेको सिविन नेपाल मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्