तपाईँ सुन्दै हुनुहुन्छः

बित्तीय सुशासन: गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट

काठमाडौँ। बेरुजु फर्छ्यौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ । 

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट तथा गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो । 

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृह सचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरूको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताउनुभयो । 

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्यौट प्रगति ६३।१७ प्रतिशत रहेको छ । “ चालु आर्थिक वर्षमा अब रु १ अर्ब ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ।” आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भन्नुभयो–“ कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ ।” उहाँले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखा परीक्षण अङ्कको आधारमा बेरुजु ०।०९ प्रतिशतमा झरेको बताउनुभयो । 

“ आर्थिक वर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखा परीक्षण अङ्कको आधारमा बेरुजु थियो ।” अधिकारीले भन्नुभयो–“ अहिले शून्य प्रतिशतमा झरेको छ ।”

मन्त्रालयले बेरुजु फर्छ्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत बर्सहरूको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेस्की बेरुजुका सम्बन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्यौट, सम्परीक्षण र बित्तीय सुशासन सम्बन्धी काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button