सहरी विकास मन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबिच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

सहरी विकास मन्त्रालयको सभा हलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो ।
उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजना किन सकिएनन् रु भन्दै प्रश्न गर्नुभयो ।
उहाँले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्