हिमालय टोल सुधार समाजको २२औँ स्थापना दिवस सम्पन्न
काठमाडौँ (काडाँघारी)। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित हिमालय टोल सुधार समाजको २२ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ।

स्थापना दिवसको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो । नगर प्रमुख कार्कीले समाजले स्थानीय स्तरमा देखाएको सामाजिक सद्भाव, सामूहिक नेतृत्व र निरन्तर प्रगतिप्रति विशेष प्रशंसा व्यक्त गर्नुभयो ।
‘हिमालय टोल सुधार समाजले कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणीय रुपमा भूमिका निर्वाह गरिरहेको छ । समाजको अनुशासन, समर्पण र समुदायप्रतिको निष्ठा साँच्चिकै सिक्न लायक छ’, मेयर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिमालय टोलले जुन प्रतिबद्धताका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ, त्यो स्थानीय सरकार र अन्य टोल विकास संस्थाहरूका लागि प्रेरणाको स्रोत हो। यस्ता संस्थाहरू नै समृद्ध नगरको आधारस्तम्भ हुन् । नगरपालिकाले यस्ता सामाजिक संस्था र पहललाई सधैँ साथ दिनेछ ।’
कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ९ का अध्यक्ष अनिल थापा, वडा नं. ७ का अध्यक्ष भीमसेन थापा विशिष्ट अतिथिका रुपमा सहभागी रहनुभएको थियो ।
कार्यक्रममा अन्य अतिथिहरूको रूपमा नगर सदस्यहरु राजेन्द्र थापा, भगवती पाण्डे, मन्जु थापा सिताराम आचार्य , भक्त थापा , छिमेकी टोल सुधार समाजका अध्यक्ष भाइगरथी पन्त, तुलसीप्रसाद आचार्य, मेलमिलाप समिति संयोजक लोकेन्द्र बस्नेत, टोल सुधार समाजका सल्लाहकार, पूर्व अध्यक्षहरू, स्थानीय स्थायी तथा अस्थायी बासिन्दाहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम समाजका अध्यक्ष गया प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो । स्थापना दिवसकै अवसरमा बिहान कलश यात्रा र पूजा आजबाट सुरु भई तीजको दर सहित प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र समाजको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भाबकेशर बरालले स्वागत र गणेश बाबु पोखरेलले टोल सुधार समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम टोल सुधार समाजका सचिव लीला दाहालले सञ्चालन गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्