तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मलेरिया बढ्दै, नरैनापुर सबैभन्दा बढी प्रभावित

बाँके। बाँकेको नरैनापुरमा पछिल्लो समय भारतबाट आयातित मलेरियाका बिरामी बढेका छन्। नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार मुम्बई, चोरबजार, बढीमहला र भेन्डीबजारलगायत क्षेत्रबाट फर्किने मजदुरमा रोग देखिएको छ। वडा नं. २ र ३ सबैभन्दा प्रभावित रहेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा नरैनापुरमा १८५ जनामा मलेरिया देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५३ ले बढी हो। बाँकेमा समग्रमा बिरामीको संख्या २०८०/८१ को १६० बाट २०८१/८२ मा २६४ पुगेको छ। तीमध्ये १० जना स्थानीय र बाँकी भारतबाट आएका हुन्।

सन् २०२५ भित्र नेपालमा स्थानीय मलेरिया शून्यमा पुर्‍याउने लक्ष्य भए पनि बाँकेमा बिरामी बढ्नु चुनौती बनेको छ। डुडुवा गाउँपालिका–१ मा यस रोगबाट एक पुरुषको मृत्यु भइसकेको छ।

शाहका अनुसार सरकारी स्वास्थ्य संस्थामा समयमै परीक्षण गर्न नआउनु, निजी क्लिनिक वा अस्पतालमा आफूखुसी उपचार गर्नु र ढिला परीक्षण गराउनु नियन्त्रणमा मुख्य समस्या बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button