बन्द डिप बोरिङ सञ्चालनको माग
जनकपुरधाम । विगत केही दिनको सामान्य वर्षाले धनुषासहित मधेश प्रदेशका किसान तथा सर्वसाधारणलाई राहत मिले पनि दीर्घकालीन शोचका साथ काम हुनुपर्नेमा जोड दिइएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति धनुषाको आयोजनामा आज जनकपुरधाममा भएको विपत् व्यवस्थापन समितिको बैठकमा सहभागीहरूले मधेशको खानेपानी तथा सिँचाइको समस्या समाधानका लागि धनुषा जिल्लामा बन्द अवस्थामा रहेका पुराना डिप बोरिङ सञ्चालनमा ल्याउनुका लागि आग्रह गर्नुभयो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा रहेका ५४ वटा डिप बोरिङमध्ये ४९ वटा बन्द अवस्थामा रहेका छन् भने ५ वटा मात्र सञ्चालनमा रहेको सो पालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले जानकारी दिँदै सबै डिप बोरिङ सञ्चालन भएको खण्डमा ९५ प्रतिशत समस्याको समाधान हुने बताउनुभयो ।
धनुषाको दक्षिणी भेगमा रहेको नगराइन नगरपालिकाका नगरप्रमुख विनय यादवले पुरानो डिप बोरिङ सञ्चालन भइदिएको खण्डमा खानेपानी तथा सिँचाइको धेरै समस्याहरू समाधान हुने बताउनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जीतनारायण यादवले आफ्नो पालिकामा ९५ प्रतिशतले रोपाई भएको भए पनि अव पानी नपरेको खण्डमा धान सुक्ने खतरा रहेको बताउनुभयो ।
अध्यक्षको आसनबाट जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले नयाँ डिप बोरिङ वा स्यालो ट्युबवेल जडान गर्नुको साटो पुरानो सञ्चालन गर्नेतर्फ सबै निकायले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्