त्रिपालले छोपेर राजमार्ग सञ्चालन
पाल्पा । यदि तपाईं सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डमा यात्रा गर्नुभएको छ भने चर्चरेमा भासिएको र एकतर्फी सडक देख्नुहुनेछ। त्यही भासिएको सडकबाट तल तिनाउ खोलासम्म कालो त्रिपालले छोपिएको छ। सिद्धार्थ राजमार्गको यो खण्डमा चल्ने सवारीहरू जोखिम मोलेरै यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउँदै आएका छन्।
चर्चरे क्षेत्रको सडक लामो समयदेखि भासिएकोले जोखिम झनै बढेको छ। ठेकेदारले समयमै काम नगर्दा वर्षाको समयमा सडकलाई त्रिपालले छोपेर जोखिम मोल्दै सवारी सञ्चालन भइरहेको छ। सडक मर्मतका लागि भगवती कन्टक्सन बुटवलले सडक डिभिजन कार्यालयसँग १ करोड ३१ लाख ६९ हजार १८८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा राजमार्गका ६ स्थानमा ढलानसहित चर्चरेमा टेवा पर्खाल निर्माण गर्ने उल्लेख थियो।
निर्माण व्यवसायीले सजिलो स्थानमा मात्र ढलानको काम गरेपनि चर्चरेमा टेवा पर्खालको काम गरेको छैन। निर्माण व्यवसायीले काम नगर्दा थप सडक क्षति हुन नदिन त्रिपाल लगाइएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले बताउनुभयो।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अत्याधिक जोखिमयुक्त सडकखण्ड हो। यस क्षेत्रमा वर्षभरि पहिरो र ढुङ्गा खस्ने जोखिम हुन्छ। सिद्धबाबा, पानीमिल, हिउँदेखोला, चर्चरे, गौडेपुलजस्ता स्थानहरू विशेषगरी जोखिमयुक्त मानिन्छन्। वर्षाको समयमा यस राजमार्गमा यात्रा गर्नु यात्रु र सवारी चालकका लागि ठूलो चुनौती बन्ने गरेको छ।
राजमार्गका कतिपय ठाउँमा मर्मतको काम भए पनि गुणस्तरीय नभएको र जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रुहरूको गुनासो छ।
अन्य स्थानमा निर्माण व्यवसायीले काम गरे पनि चर्चरेमा भौगोलिक कठिनताका कारण मेसिन लगाएर काम गर्न नसकिने हुँदा टेवा पर्खालको काम हुन नसकेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयो।
राजमार्गमा गुणस्तरीय काम नभएको र समयमा मर्मत नभएको गुनासो बढेपछि जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले अनुगमन थालेका छन्।
प्रतिक्रिया राख्नुहोस्