असारे विकासको कुरूप ‘शङ्खमूल सडक’
काठमाडौँ । “झरी परेपछि हिलाले बाटोमा हिँड्ने स्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्नुहुन्छ, “छि ! सडक ।”

यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । “घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ, हिँडेपछि सास्ती । अस्ति सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ”, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्नुहुन्छ ।
कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठ/असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापन समेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोशित छन् । वडाले खानेपानीको पाइप, बिजुलीको तार, ठुला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवतजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्नुहुन्छ ।
सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँडडुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताउनुभयो । सडक खन्ने पनि जनताले कसरी हिँडडुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उहाँले बताउनुभयो।
कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताउनुभयो । शङ्खमूल गणेश मार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उहाँको भनाइ छ ।
किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताउनुभयो । यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकै पटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्