तपाईँ सुन्दै हुनुहुन्छः

मधेसको स्वास्थ्य र सामाजिक क्षेत्रमा अझै सुधारको खाँचो

जनकपुरधाम । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा सञ्चालित कार्यक्रमपछि मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा र सप्तरीका १७ पालिकामा स्वास्थ्य तथा सामाजिक सेवामा सुधार देखिएको छ।

जनवरी २०२५ देखि सञ्चालनमा आएका ती कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा आज जनकपुरधाममा सम्पन्न भयो। समीक्षा बैठकमा सहभागी पालिकाहरूका शाखा प्रमुखहरूले तोकिएको लक्ष्यभन्दा बढी प्रगति भएको जानकारी दिनुभयो ।

जनसङ्ख्या कोषका मधेस प्रदेश प्रमुख डा.नरेन्द्र कुमार मिश्रले परिवार नियोजनका साधनसहित अन्य सेवाहरू हाल प्रदेशका १३६ पालिकामा विस्तार गरिएको बताउनुभयो ।

कार्यक्रममा कोषले प्रसूति सेवा सुधार, लैङ्गिक हिंसा नियन्त्रण, बालविवाह न्यूनीकरण, विपद् व्यवस्थापन र अनुसन्धानमा गरेको कामबारे जानकारी दिइयो।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मातृ तथा शिशु मृत्यु दर घटाउन थप प्रयास आवश्यक रहेको भन्दै बालविवाह, दाइजो र भागी विवाह अन्त्यका लागि तीन तहका सरकार तथा साझेदार संस्थाबीच सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले सङ्घीयता आएपछि स्वास्थ्य क्षेत्रमा सुधार देखिएको बताउनुभयो ।

समाज कल्याण मन्त्रालयका सचिव रञ्जित कुमार यादवले सामाजिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न पालिकाका शाखा प्रमुख, प्रदेश सरकारका अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button