फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली १३ स्थानको फड्को मार्दै ८७औँ स्थानमा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औँ स्थानमा उक्लिएको छ ।
नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३ बाट सुरु भएको महिला वरियताको इतिहासमा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औँ स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो ।
स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ । यसैगरी स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौँ स्थानबाट इङ्गल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ ।
एसियाली देशको बीचमा भने नेपालको स्थान १६औँ छ । एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको आठौँ स्थानमा छ । दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ । भारतको विश्व वरियता ६७ छ भने एसियाली देशबीच भारतको स्थान १२औँ छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बङ्गलादेश १०४औँ स्थानमा पुगेको छ । एसियाली देशबीच १९औँ स्थानमा उक्लिएको बङ्गलादेश दक्षिण एसियाली प्रतिद्वन्द्वीहरुमध्ये तेस्रो स्थानमा छ ।
नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ ।
प्रतिक्रिया राख्नुहोस्