पौडी खेल्न गएका युवा गोहीको आक्रमणबाट बेपत्ता
बर्दिया । बर्दियाको ठाकुरबाबु नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका छन् ।
मङ्गलवार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलालीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका हुन् ।
मङ्गलवार साँझ देखि नै हात्ती बोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजबिन गरेपनि हाल सम्म उनी फेला परेका छैनन् । हिजो साँझ ९ बजे सम्म र आज बिहान देखि नै खोजतलास गरेपनि बेपत्ता युवा फेला पर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी गराउनु भयो । खौराहा खोला कर्णाली नदीको पानी निकुञ्ज भित्रबाट बग्दै आउने भएको हुनाले गोही लगाएतका पानीमा जनावरको बासस्थान रहेको बताउँदै कोही पनि पानी भित्र नजान सूचना अधिकारी पौडेलले आग्रह गर्नु भयो ।
बेपत्ता युवाको हिजो र आज खोजकार्य गरेतापनि हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डम्मरपालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्