तपाईँ सुन्दै हुनुहुन्छः

गुरु पद्म सम्भवको जन्मदिवस र महाकाल जात्रा विविध धार्मिक/सांस्कृतिक कार्यक्रम गरी मनाइने

काठमाडौँ  । बौद्ध परम्परामा दोस्रो बुद्धको रूपमा चिनिने गुरु रिन्पोछे (गुरु पद्म सम्भव) को जन्मदिवस (छेच्यु) भोलि साउन १९ गते विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी मनाइने भएको छ। 

श्री बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी गुरु रिन्पोछे (गुरु पद्म सम्भव)को जन्मदिवस भव्यताका साथ मनाउने जानकारी दिएको छ। गुरु पद्म सम्भवको जन्मदिवसको अवसरमा भोलि महाँकाल स्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थानमा, तिनचुली स्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थानमा र बौद्ध स्थित घ्योइलिसाङ पोखरी (गुरु रिन्पोछे पार्क) मा बिहान ९ बजेबाट नै लामा धर्मगुरुहरू बाट बौद्ध परम्पराअनुसार विशेष पूजापाठ सुरु हुने समितिले जानकारी दिएको छ।

 पूजा समापन पश्चात् दिउँसो ३ बजे तिनचुलीबाट सुरु हुने गुरु  रिन्पोछेको प्रतिमा सहितको शोभायात्रा ले बौद्ध महाचैत्यको परिक्रमा गरे पश्चात् गुरु रिन्पोछेको अष्ट लीला झल्काउने नृत्य (गुरु छेङ्गे  छ्याम) प्रस्तुत हुनेछ भने उक्त धार्मिक नृत्य अवलोकन गर्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको समेत उपस्थिति रहने समितिले जनाएको छ।तत्पश्चात् साँझमा बौद्ध परिसरमा दीपावली गर्दै सम्पन्न गरिने यस महत्त्वपूर्ण शोभा यात्रामा ७० भन्दा बढी संघसंस्थाहरूको सहभागिता रहने समेत समितिले जनाएको छ।

त्यस्तै गरी बुद्ध धर्मको धर्मपालको रूपमा तथा आर्य अवलोकितेश्वरको अवतार निर्माण कायको रूपमा रहेको महाकालको जात्रा पनि यही साउन २७ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने समितिले जनाएको छ। उक्त दिन लामा धर्मगुरुहरू, बज्राचार्य गुरुहरू तथा ब्राह्मणहरूबाट बिहानै महाकालको पूजा गरिनेछ भने दिनको ११ बजे  महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तिनचुली, बौद्ध ,टुसाल, चुच्चेपाटी हुँदै महाँकालको शोभा यात्रा समापन गरिनेछ साथै यस जात्रामा शार्दूल जङ्ग गुल्म (गुरुजु पल्टन)ले हर्ष बढाई कार्यक्रम समेत प्रस्तुत गरिने समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button