मधेशमा देखिएको खानेपानी तथा सिँचाइ समस्या समाधानका लागि द्रुत गतिमा काम भइरहेकाे : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएसँगै त्यस क्षेत्रको समस्या समाधानका लागि सरकारले तीव्रता दिने बताउनुभएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएसँगै त्यस क्षेत्रमा देखिएको खानेपानी तथा सिँचाइ समस्या समाधानका लागि द्रुत गतिमा काम हुने बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले रुकुम पूर्वी जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने रुकुमकोटलाई तोक्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेसनेल डेभलपमेन्टबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने, नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायत विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनको मन्त्रिस्तरीय भ्रमणहरू स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्