तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले चापाकल सुकेसँगै वीरगंजमा पानी संकट, महानगरद्वारा दैनिक ५ लाख लिटर पानी वितरण

वीरगंज । खडेरीले खानेपानीका चापाकल सुकेसँगै तीन सातादेखि वीरगंज महानगरवासीले पानीको चरम अभाव भोग्दै आएका छन् ।

अधिकांश स्थानका चापाकल सुकेपछि महानगरपालिकाले राहत स्वरूप दैनिक ५ लाख लिटर पानी वितरण गरिरहेको छ ।

वीरगंज महानगरपालिका आफैँले दैनिक औसत ४ लाख लिटर पानी आफ्ना विभिन्न साधनमार्फत वितरण गरिरहेको छ । साथै, मधेस प्रदेश सरकारले उपलब्ध गराएका ८ वटा वारुण यन्त्र (दमकल) प्रयोग गरी नेपाली सेनाको सहयोगमा थप १ लाख लिटर पानी वितरण भइरहेको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।  नगर प्रमुख सिंहका अनुसार, वीरगञ्ज महानगरपालिकाको दुईवटा वारुण यन्त्र, एक ट्याङ्कर र अन्य निजी साधनमार्फत पानी पुर्‍याउने काम भइरहेको छ । कुल एक दर्जन सवारीसाधनले महानगरका विभिन्न वडाहरूमा पालोअनुसार पानी वितरण गरिरहेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा खटिएको नेपाली सेनाको टोलीले पनि शुक्रबारदेखि सक्रिय रूपमा पानी वितरण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, प्रदेश सरकारबाट उपलब्ध गराइएका वारुण यन्त्रमध्ये प्रत्येकले दैनिक करिब ५ हजार लिटर पानी बोक्ने क्षमता राख्दछन् ्। त्यसअनुसार कम्तीमा १ लाख लिटर पानी सेनाको सहयोगमा वितरण भइरहेको छ ।

पानी सङ्कलनका लागि वीरगञ्ज महानगरपालिकाले केन्द्र निर्धारण गरेको छ । वितरणमा सबै वडालाई समान प्राथमिकताका आधारमा समेटिएको छ ।

पानीको स्रोत नहुँदा धेरै घरमा खाना पकाउनेदेखि सरसफाइसम्मका काम प्रभावित भएका छन् । अझै पनि अधिकांश घरमा खानेपानी संस्थानको पाइप जडान नहुँदा संकट झनै बढेको छ । यस्तो अवस्थामा महानगरको यो पहलले केही राहत दिएको भए पनि दीर्घकालीन समाधानको खाँचो महसुस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button