एमाले पोलिटब्युरो बैठक जारी
'विधान महाधिवेशनअघि संशोधन प्रस्तावमा घनीभूत छलफल'
काठमाडाैँ । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरूका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक आज पनि जारी छ ।

हिजोबाट सुरु भएको बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा सुरु भएको हो । पार्टीको सचिवालय बैठकबाट निर्णीत विधान संशोधनलगायत प्रस्ताव पेस हुने जनाइएको छ ।

विधान महाधिवेशन पूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो ।
आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनबारे नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ ।

विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रूप दिनेछ ।
प्रतिक्रिया राख्नुहोस्