तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप : आयोजक फाइनलमा

धनकुटा । धनकुटामा जारी १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिराहालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको छ । 

आयोजकका लागि खेलको ९औँ मिनेटमा विदेशी खेलाडी अमित बेश्रा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेलमा अन्य कुनै गोल नभएपछि अमितले गरेको सोही गोल निर्णायक बनेको थियो । 

धेरै पटक गोल गर्ने अवसर पाए पनि बललाई जाली चुमाउन नसक्दा सलहेश पराजित हुन पुगेको हो । दर्शकको पनि साथ पाएको आयोजकले पनि कतिपय गोल गर्ने मौका भने चुकाएको थियो । 

खेलको २० औँ मिनेटमा सलहेशका खेलाडीले गरेको प्रहार आयोजकका गोलकिपर प्रिसोले रोकेका थिए भने अर्को पटक पोलको बारमा लागेर बाहिरिएको थियो । 

खेलको प्लेयर अफ द म्याच आयोजकका विवेक गुरुङ घोषित भए । उनले नगद ६ हजार पुरस्कार पाए । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शुक्रबार बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । 

गत आइतबारदेखि जारी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button