पोखरा उच्च अदालतमा मुद्दा फछ्र्यौट ५ वर्षयताकै उच्च

कास्की । पोखरा उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दा शुन्य भएको छ ।
अदालतले बुधबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अदालतमा बुधवारसम्म रहेका ७ सय ५० मुद्दामध्ये ६ महिनाभित्रका ५ सय ३४, ६ महिनादेखि १ वर्षभित्रको १ सय ८६ र १ वर्षदेखि १८ महिनासम्मको ३० मुद्दा मात्रै रहेको रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०८१/०८२ मा अदालतबाट २६ सय ७० मुद्दा फछ्र्यौट भएका छन् । कुल मुद्दाको यो ७८.७ प्रतिशत हो । यस आवमा अघिल्लो आवबाट १५ सय ९० जिम्मेवारी सरेर आएका र १८ सय ३० नयाँ गरी ३४२० मुद्दा दर्ता भएका थिए । मुद्दा फर्छ्यौटको यो प्रतिशत पनि ५ वर्षयताकै उच्च हो ।
आव २०८१/०८२ मा मेलमिलापका लागि ३.५ मुद्दा पठाएकोमा जम्मा ३२ मुद्दा मात्रै फछ्र्यौट भएका छन् । यो अवस्था अलि नाजुक भएको रजिष्ट्रार अधिकारीले बताउनुभयो । अदालतमा २७ हजार ९९८ थान मिसिल रहेकोमा ४८०५ मात्रै डिजिटलाइजेशन भएको अधिकारीले बताउनु भयो । अघिल्लो वर्षका जिम्मेवारी सरेका २६ सहित ५१४ प्रतिवेदन लगत रहेकोमा ४८३ अर्थात् ९४ प्रतिशत प्रतिवेदन फर्छ्यौट भएका छन् ।
उच्च अदालत पोखरा मातहतका जिल्ला अदालतको मुद्दा र फर्छ्यौटको तथ्याङ्क पनि सार्वजनिक गरिएको थियो ।
मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्दले नागरिकलाई न्याय दिने सन्दर्भमा पत्रकारिताले कतिपय विषय सार्वजनिक गरिदिँदा राज्यको ध्यानाकर्षण हुने गरेको भन्दै न्यायको अनुभूति हुनेगरी अदालतले काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्