भेरी अस्पताल: ११ सय जनाको लिगामेन्टको सफल शल्यक्रिया
बाँके । भेरी अस्पताल नेपालगञ्जमा लिगामेन्टको सफल शल्यक्रिया गरिएको छ ।
यसअघि राजधानी काठमाडौँबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त उपचार भेरी अस्पतालकै चिकित्सकले शल्यक्रिया सफल गरेका हुन् ।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.प्रकाश थापा, अर्थोपेडिक डा. तीर्थेन्द्र खड्का र अर्थोपेडिक डा. शैयद सद्दामको टोलीले नरैनापुर गाउँपालिका २ का १८ वर्षीया शैयद नुर आयानको घुँडाको सफल शल्यक्रिया गरेका हुन् ।

१६ दिन पहिला मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आयानको दायाँ खुट्टाको घुँडामा चोट लाग्दा २ वटा नशा एसिल र पिसिएल भाँचिएको थियो । डा. थापाले भन्नुभयो, ‘भेरी अस्पतालका चिकित्सकको टिमले अहिले सम्म १ हजार १ सय १ जनाको सफल शल्यक्रिया गरे छ ।’ वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा. खड्कासहित ३ जनाको टोलीले एसिल र पिसिएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिँदै अस्पतालका डाक्टर सद्दामले दूरबिनका माध्यमबाट सिङ्गल लिगामेन्टको केही वर्षदेखि उपचार भइरहेको बताउनुभयो ।
भेरीमा ३ वर्षमा लिगामेन्टको मात्र ११ सय १ जना बिरामीको शल्यक्रिया भइसकेको छ । भेरीलाई विशिष्टीकृत सेवा अस्पतालका रूपमा विकास गर्ने सरकारको निर्णयसँगै विभिन्न सेवा थपिँदै लगिएको छ । ‘ गम्भीर बिरामी हुँदा भारत वा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई भेरी अस्पतालले कम गरिदिएको भेरी अस्पताल बिकास समितिका सदस्य डा.डक्ट प्रसाद धितालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्