तपाईँ सुन्दै हुनुहुन्छः

फिस टनेल एक्स्पोमा ४५ हजार सहभागी  

भक्तपुर । माछा हेर्ने पारखीका लागि जाने चहलपहलको नयाँ गन्तव्य बनेको छ, मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा गत असार ६ गतेबाट सुरु भएको  ‘फिस टनेल एक्स्पो २०८२’।

औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ ।

साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोस्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

हालसम्म फिस टनेल एक्स्पोमा करिब ४५ हजार अवलोकनकर्ता सहभागी भैसकेको जानकारी दिँदै अध्यक्ष महतले टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको जस्तो वातावरण निर्माण गरिएको बताउनुभयो ।

यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेका लागि उचित गन्तव्य समेत रहेको छ ।

यहाँ राखिएका दुर्लभ तथा रङ्गिन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोस्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरूका साथै फुड स्टल समेत रहेका छन् ।एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनुभयो ।

समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रूपमा रहेको छ । सुनामी राइडमा आगन्तुकले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।

एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङ रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका विभिन्न खेलसमेत रहेको छ । साथै नेवारी खाजा, सम्मयबजीलगायत विभिन्न खानाको परिकार, गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यवस्था गरिएको छ । रोयल थाई हस्पिटालिटी नजिकै सञ्चालित एक्स्पो हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहेको छ ।

एक्स्पो’मा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ ।स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले भन्नुभयो ।

दुबई र सिंगापुर गएर मात्र हेर्न सकिने १६० प्रकारका सय रुपैयाँदेखि रु २ लाख सम्मका माछा यहाँ राखिएका छन् । प्रति व्यक्ति रु १५० शुल्क  र अझ ५ बर्ष मुनिका बालबालिकालाई निःशुल्क गरिएको छ ।

एक लाख अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । रु ४० लाख खर्च अनुमान गरिएको एक्स्पोबाट कम्तीमा त्यति नै उठाउने आशा गरिएको आयोजकको भनाई छ ।

एक्स्पोमा सहभागी हुन उपत्यकाका तीन जिल्ला र आसपासका जिल्लादेखि  अवलोकनकर्ता आएर पर्यटकीय माहौल बनेको अध्यक्ष महतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button