तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन डोला (पिङ) राखेका छन् । श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबीच भागमा डोला राखिएको हो । 

राना थारु समुदायमा परम्परागतकालदेखि डोला राख्ने चलन रहेको वडाध्यक्ष नवलसिंह राना बताउनुहुन्छ । उहाँका अनुसार गाउँकोबीच भागमा राखिएको डोलालाई विवाहित महिलाले सजाउँछन् । त्यस अवसरमा उनीहरूले लोकभाकामा गीत पनि गाउँछन् । यो क्रम अठार दिनसम्म चल्छ । 

यो परम्परा कालागौँडीको राना थारु गाउँमा मात्रै नभएर कैलाली कञ्चनपुरका राना थारु गाउँमा पनि मनाइन्छ । डोलामा झुल्ने क्रममा महिलाहरूले रामायण, महाभारत, कृष्णलीला, र पारिवारिक कथाहरूमा आधारित परम्परागत गीत गाउँछन् ।

“डोला मात्र झुल्ने ठाउँ होइन, हाम्रो संस्कार साँच्ने थलो हो” देवकीदेवी रानाले भन्नुभयो, “दिदीबहिनीहरू मिलेर गीत गाउँछौँ, आफ्ना परम्परा जगेर्ना गर्छौँ ।” गाउँका भद्रभलादमी, भलमन्सा भर्रालगायतले दुष्टात्माको अनिष्टबाट जोगाउनका लागि विधि विधानअनुसार डोला राख्ने क्रममा पूजा गर्ने चलन रहेको कालागौंँडी गाउँका भलमन्सा लालबहादुर रानाले बताउनुभयो ।

“पूजापाठका क्रममा धूप बत्ती गर्ने, फूल मिठाइलगायत चढाउने काम गर्दछौँ”, उहाँले भन्नुभयो, “कमिलालाई त्यसै क्रममा सावनको डोलामा झुलाउने९पिङ खेलाउने० कार्य गरिन्छ ।” जसलाई राना थारु भाषामा ‘चिटी डोँका’ भन्ने गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार यस्तो गरेमा डोलामा झुल्नेलाई रिङटा नलाग्ने र दुष्टात्माको नजरबाट जोगाउने अन्न धेरै फल्ने रोगव्याधी हट्ने जनविश्वास रहिआएको छ । यी धार्मिक तथा परम्परागत विधि विधान पूरा भएपछि डोलाको दुईतर्फ लामबद्ध भएर उभिएका महिलाले माङ्गलिक र धार्मिक गीत परम्परागत लोक लयमा गाउन सुरु गर्दछन् । केही महिलाले डोलामा चढेर रमाइलो गर्दछन् ।

“यो चलन लामो समयदेखि चल्दै आएको छ”, प्रेमवती रानाले भन्नुभयो, “दिदीबहिनीले डोलामा मच्चिँदै रमाइलो गर्दै मा¬ङ्गलिक गीत गाउने गर्दछन् ।” चार वटा काठको खावा गाडेर त्यसको बीचमा काठकै बलियो डण्डी राख्ने गरिन्छ र डण्डीमा डोरी राखेर त्यसमा काठको फल्याक बाँधेर डोला ९पिङ०का रुपमा प्रयोग गरिन्छ ।

डोला खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा छ । यसबाट दिदीबहिनी र दाजुभाइबिच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको उहाँको भनाइ रहेको छ । 

सावनको डोला खेल्ने क्रम श्रावण शुक्लपक्षको तृर्तिया तिथिसम्म जारी रहन्छ । अठार दिनसम्म सावनको डोलामा दिदीबहिनीले रमाइलो गर्दै झुल्ने स्थानीय शिक्षक गेंदुराम राना बताउनुहुन्छ । श्रावण शुक्लपक्षको तृतियाका दिन राना थारु समुदायका दिदीबहिनीले दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै पानी नपिएर निरहार बसी तिजको व्रत बस्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा साँझपख सिमही, पपरा, कतरा, पुरी, गुलगुलालगायतका पकवान ग्रहण गर्दछन् । ती परिकार भने तिजको बिहानीपखदेखि नै पकाउने कार्य गरिन्छ । तिजको दिन व्रतालु उपस्थित भएर डोलामा राखिएको डोरीको टाउको काट्ने गर्दछन् । 

विशेष प्रजातीको घाँस गड्रौँंधाको पातको विवाहिताले सात र अविवाहिताले पाँच ओटा गाँठो एकै हातले बाँधेर चाँदीको सिक्काले काट्ने गरेको प्रेमवतीले बताउनुभयो । “त्यो घाँसमा बाँधिने गाँठोलाई झुडकी भन्ने गर्दछन्”, उहाँले भन्नुभयो, “एक थालमा झुडकी, अर्को थालमा डोरीको टाउको र विभिन्न थरिका पकवान लिएर महिला सामूहिक रुपमा नदीमा पुगेर पूजापाठ गर्दछौँ ।”

पूजापाठपछि सालको पातको दुनामा झुडकी बलेको बत्ती राखेर नदीमा बगाइन्छ । त्यस अवसरमा गङ्गा मैयासँग प्रार्थना गर्छन् । झुडकी नदीमा विसर्जन गरेपछि व्रतालुहरूले खाना खान्छन् । नदीमा विसर्जन गर्न जाने बेला गाउँका युवाले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिन्छन् । डोरी राखेर रोक्ने कार्यलाई राना थारु भाषामा ‘पटाँसो’ हाल्ने भन्ने गरिन्छ । दिदीबहिनीले पूजापाठ गरी नदीबाट फर्केपछि पकवान खानका लागि दिने बचनबद्धता गरेपछि युवाले पासो खोलेर बाटो खुला गरिदिने उहाँ बताउनुहुन्छ । 

यसै दिन सावनको डोलालाई खोलेर राख्ने गरिन्छ । माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरू यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गरिएको राना थारु अगुवा मोतीराम रानाले रानाले बताउनुभयो ।   

“यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाइ आफन्तलाई बाँड्दै घरका सबैलेसँगै बसेर खाने चलन छ”, उहाँले भन्नुभयो, “तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् ।”

उहाँका अनुसार यस वर्षको राना थारु समुदायका दिदीबहिनीले मनाउने तीज पर्व साउन महिनाको ११ गते परेको छ । सावनको डोला राख्ने कार्य भने भइसकेको छ । राना थारु समुदायको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button