पाटेबाघको छाला सहित ३ जना पक्राउ
दाङ । दाङमा बाघको छालासहित ३ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय लमहीले गएराती बाघको छाला सहित ३ जना मानिसलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ फिट २ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाई भएको पाटे बाघको छाला (ओखेटोपहार) बरामद गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ खबरी निवासी वर्ष ४१ का विक्रम बुढा मगर, राजपुर गाउँपालिका -१ गुरुङ खोला निवासी वर्ष ५३ का केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका -४ पदनाह निवासी वर्ष ३३ का अनिल थारु रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो ।
पाटेबाघको छाला सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्