तपाईँ सुन्दै हुनुहुन्छः

राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय संरचनाको निर्माण छिटो हुनुपर्छ : नेता निधि  

जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले निक्कै लामो सङ्घर्षपछि स्थापना भएको राजर्षि जनक विश्व विद्यालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण चाँडो भन्दा चाँडो गर्नका लागि माग गर्नुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले धनुषाको नगराइन नगरपालिकाको मनियारीमा रहेको १३ विघा जग्गा गुठीले राजर्षि जनक विश्व विद्यालयलाई प्रदान गरिसकेकाले उक्त ठाउँमा अविलम्ब रुपमा विश्व विद्यालय निर्माणको काम शुरु गर्नका लागि माग गर्नुभयो । 

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका काँग्रेस नेता निधिले राजर्षि जनक विश्व विद्यालयको प्रशासनिक भवन निर्माण सहितको केन्द्रीय कलेजको भवन निर्माण नभएका कारणले विश्व विद्यालयले भाडाको भवनमा काम गर्नका लागि विवश भएको बताउँदै विश्व विद्यालय अनुदान आयोगलाई विश्व विद्यालयको आफ्नै भवन निर्माणका लागि बाटो खुल्ला गरिदिनका लागि माग गर्नुभयो ।

काँग्रेसका पूर्व उपसभापति निधिले विश्व विद्यालयको भवन निर्माणका लागि १० करोड रकम विश्व विद्यालयमा भएपनि काम अगाडी बढाउनमा अवरोध गर्ने काम हुनु गलत भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री रामसरोज यादवले यादवले मधेश प्रदेशको राजधानी तोकिएको चार किल्ला क्षेत्रमा नै नगराइन नगरपालिकाको मनियारीमा विश्व विद्यालयको जग्गा भएको र त्यसपछि विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू सुरक्षा युनिट भएकाले विश्व विद्यालय स्थानमा कुनै सुरक्षा चुनौती नहुने बताउनुभयो ।

नेपाल प्रेस युनियन धनुषाका जिल्ला अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button