अत्यधिक गर्मी र ‘लु’ बाट जोगाउन नेपालगन्ज उपमहानगरले बनायो कुलिङ सेन्टर
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा वडा नम्बर ४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा आएको हो । यो स्थानीय सरकारले सञ्चालनमा ल्याएको मुलुककै पहिलो कुलिङ सेन्टर हो ।

नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच कुलिङ सेन्टरको उद्घाटन गर्नुभयो । नेपालकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा रहेको नेपालगञ्जमा पहिलोपटक कुलिङ सेन्टर बनाइएको हो । नगर प्रमुख विष्टले तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरुप यात्रुहरूलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको बताउनुभयो । नगर प्रमुख विष्टले असाध्यै गर्मीसँगै (लु) चलेको समयमा कुलिङ सेन्टरले नागरिकलाई राहत दिने बताउनुभयो । उहाँले नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण सम्पन्न भएको कुलिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिनुभयो । वातावरणमैत्री संरचनायुक्त कुलिङ सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको बोहराले बताउनुभयो । १२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले १(१ थान वाटर कुलर र वाटर ट्याङ्की, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पङ्खा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले जानकारी दिनुभयो ।

कुलिङ सेन्टर उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नेपाल रेडक्रस सोसाइटी बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । जय भवानी कन्स्ट्रक्सन नेपालगञ्ज(१२ बाँकेले कुलिङ सेन्टर निर्माण गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्