तपाईँ सुन्दै हुनुहुन्छः

झापा हल्दिबारीका युवकमा कोरोना परीक्षण : आरडीटी रिपोर्ट पाजेटिभ, पीसीआर रिपोर्ट नेगेटिभ

झापा । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएका् झापा हल्दिबारी गाउँपालिकाको एक युवकको पिसिआर विधिबाट गरिएको स्वाव परीक्ष्णमा भने रिपोर्ट नेगेटिभ देखिएको छ ।

आज विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणबाट ती युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

हल्दिबारी गाउँपालिकामा हिजो गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो ।

त्यसलगत्तै युवकको स्वाब संकलन गरी परीक्षणका लागि हिजो साँझ नै कोशी अञ्चल अस्पताल पठाइएकोमा आज दिउँसो पीसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो ।
आरडीटीमा एन्टिबडी पोजिटभ देखिएका युवकसँगै झापाबाट अन्य २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आरडीटीमा एन्टिबडी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट हल्दिबारीस्थित घर फर्किएका थिए । उनी हल्दिबारीस्थित क्वारेन्टाइनमै छन् ।

योसँगै झापामा हालसम्म गरिएका सबै टेष्टको रिपोर्ट नेगेटिभ रहेको चौलागाईंले बताउनुभयो ।

हाल झापामा दुईजना आइसोलेसनमा र एक सय २५ जना विभिन्न क्वारेन्टाइनमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button