योजना आयोगका उपाध्यक्ष अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मदबीच भेटवार्ता
व्यापारजन्य अवरोध एवं पर्यटकीय गन्तव्य सहज आवागमन सहजीकरण गर्ने विषयमा छलफल

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा।.शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच आज भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको भन्नुहुँदै त्यसतर्फ जोड दिन राजदूत मोहम्मदलाई आग्रह गर्नुभयो । उहाँले नेपालका मेडिकल विद्यार्थीहरूले काँकडभिट्टा फूलबारी बङ्गलाबन्धु मार्ग प्रयोग गरिरहेको हुँदा त्यसका लागि सहज गराउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सन् २०२६ मा नेपाल र बङ्गलादेश अति कम विकसित मुलुकबाट सँगै स्तरोन्नति हुन लागेको सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरको विषयमा र नेपालको हिमालय क्षेत्रदेखि बङ्गलादेशको सामुन्द्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो ।

उहाँहरूबीच नेपाल र बङ्गलादेश बीचको व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधारका एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्ने, नेपाल र बङ्गलादेशका पर्यटकीय गन्तव्यबीच सहज आवागमन सहजीकरण, तथा घरेलु उद्योग व्यापार सहजीकरण निर्यात प्रवर्द्धन, गर्ने विषयमा पनि छलफल भयो ।
भेटमा राजदूत मोहम्मदले नेपाल र बङ्गलादेशबीच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गर्नुभयो । उहाँले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको बताउनुहुँदै बङ्गलादेशले नेपालबाट थप परिमाणमा विधुत आयातमा इच्छुक रहेको समेत जानकारी दिनुभयो ।
भेटमा योजना आयोग र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्