स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार
पोखरा । पोखराको लेकसाइडमा रहेका ३ वटा स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार गरिएको छ ।
प्रहरी र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रमा अनुगमन गर्दा ३ वटा स्पा सेन्टरबाट ८ जना बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट २ जना, र ईभेन्डर ब्युटी एण्ड स्पाबाट ४ जना गरी कुल ८ जना बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले बताउनुभयो ।
गोप्य सूचनाको आधारमा आफूहरूको टोली अनुगमनमा गएको उहाँले बताउनुभयो । १८ वर्ष मुनिका बालिकाहरू भएकोले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरीत जोखिमपूर्ण काममा संलग्न गराइएकोले स्पा सञ्चालकलाई आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय, पोखरा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै बालश्रम अन्त्यका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने चेतावनी दिएको छ । १८ बर्ष नपुगेका बालबालिकाहरूलाई कसैले पनि श्रम गर्न नगराउन प्रशासनले समेत आव्हान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्