‘पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताउनुभयो ।
मन्त्री पाण्डेले देशभरका विभिन्न विमानस्थलको अवस्थाबारे सभालाई जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडानको सङ्ख्या वृद्धि भइरहेको र आन्तरिक उडान सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ थियो ।
यस्तै, सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि प्राधिकरणमार्फत आवश्यक बजेट परिचालन भई कार्य अघि बढ्नेसमेत मन्त्री पाण्डले बताउनुभयो ।
यसैगरी उहाँले सबै धर्मावलम्बीका आस्थाका प्रतीकको संरक्षण र सम्भारमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बृहत्तर लुम्बिनी गुरुयोजनाअनुरूपका कार्यहरू सम्पन्न गर्न मन्त्रालय र कोषको सहकार्यमा कार्य भइरहेको मन्त्री पाण्डले जानकारी दिनुभयो ।
सगरमाथा हेरिटेज ट्रेलमा बजेट विनियोजन भई निरन्तर कार्य भइरहेको जानकारी दिँदै उहाँले दोलखा पदमार्ग, मन्दिर तथा गुम्बाहरूको संरक्षणलगायत पूर्वाधारमा बजेट विनियोजन भएको उहाँले जानकारी गराउनुभयो ।
पर्यटकीय गन्तव्यलाई गुणस्तरीय र आकर्षक बनाउन रु तीन करोडमाथिका योजनालाई प्राथमिकता दिई कार्यान्वयनमा लगिनेसमेत मन्त्री पाण्डेको भनाइ थियो ।
यस्तै, कैलालीको गौरीफन्टा लगायत सबै नाकाबाट आउने पर्यटकीय सेवाका सवारीसाधनलाई सहज आगमनको व्यवस्था मिलाउन गृह मन्त्रालय र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा काम भइरहेको उहाँले सभालाई जानकारी दिनुभयो ।
यस्तै, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कूटनीतिक नियोग तथा नेपालीहरूको ‘डायस्पोरा’मार्फत पर्यटन प्रवर्द्धनका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।
सभाको अर्को बैठक यही असार १८ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्