एसियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई
रुपन्देही । रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ ।

शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एसियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले ८० नगद र उपविजेतामा चित्त बुझाएको एसियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको एसियन बुद्धले ८ विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि देव खनालले १९, कृष्ण कार्कीले १५ र रन्जित खड्काले १० रन बनाए ।
बलिङमा तिरुपतिका तुलबहादुर थापा, इन्द्रजित यादव र सन्दीप यादवले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ५ बलमा ८६ रन बनाउँदै जित निकाल्यो । तिरुपतिका लागि सन्दीप मौर्यले २९, विशाल भुसालले नटआउट २५ र विजय प्रजापतिले १४ रन बनाए । बलिङमा एसियन बुद्धका विष्णु कटारियाले २, अभिशेष गौतम, कृष्ण कार्की, कृष्ण पराजुली र इकलाख अहमदले १–१ विकेट लिए । खेलमा सन्दीप मौर्य प्लेयर अफ द फाइनल भई १ हजार दुई सय रुपैयाँ पाए ।
तिरुपतिका वसिर अहमद म्यान अफ द सिरिज भई नगद १२ हजार पाए । यस्तै, टिम रेस्पोन्स लुम्बिनीका जावेद खान वेस्ट ब्याटर र न्यु होराइजनका विप्रसन केसी वेस्ट बलर भए । उनीहरूले जनही ८ हजार रुपैयाँ प्राप्त गरे । तिरुपतिका विजय प्रजापति वेस्ट क्याच र एसियनका देव खनाल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनीहरूले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
शुक्रवारै सम्पन्न दोस्रो सेमिफाइनलमा एसियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुगेका होराइजन र प्रोफेसनल मास्टर्स–११ ले १०–१० हजार रुपैयाँ पाए ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना र भैरहवाकै एसियन बुद्ध होटलको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । विजेता र उपविजेता टिमलाई लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघ तथा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, एसियन होटलका सञ्चालक तिलकराज घिमिरे, प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्