तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपद् न्यूनीकरणका लागि रेन परियोजना लागू

बाँके।प्राकृतिक विपद् जोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकामा ‘प्रकृतिमा आधारित समाधान’ विषयक पालिका-स्तरीय को-डिजाइन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपालगञ्जमा बिहीबार आयोजित उक्त गोष्ठीमा सहभागी सरोकारवालाहरूले प्रकृतिको संरक्षणसँगै विकास अघि बढाउनुपर्नेमा जोड दिए।

उत्थानशील, अनुकूलन र समावेशी नेपाल परियोजना (रेन) अन्तर्गत पिपुल इन निडको संयोजनमा आयोजना गरिएको गोष्ठीमा नरैनापुरका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

पिपुल इन निडकी समिता पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न प्रकृतिमा आधारित समाधान आवश्यक भएको बताउँदै जलस्रोत संरक्षण, माटोको सुधार, र परम्परागत जीवनशैलीको पुनरावलोकन गर्नुपर्ने धारणा राखिन्।

लिबर्डकी रेविका गुरुङले बोटबिरुवा रोप्ने, तालतलैया संरक्षण गर्ने र सिँचाइ प्रणाली सुधार गर्ने उपायबाट जलवायु जोखिम न्यूनीकरण सम्भव हुने बताइन्। शव–इन्जिनियर धीरज भण्डारीले जनावरको अतिक्रमण रोक्न घासे मैदान र कुवा व्यवस्थापन आवश्यक भएको बताए।

नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले विकास र प्रकृति संरक्षणलाई एकसाथ अघि बढाउनु पर्नेमा जोड दिँदै विविध भौगोलिक अवस्था अनुसार दीगो समाधान खोज्नुपर्ने बताइन्। लिबर्डका टिम लिडर बुद्ध बिकले जैविक विविधता संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा आम्दानी वृद्धिमा प्रकृतिमा आधारित उपायले योगदान पुर्‍याउने धारणा राखे।

गोष्ठीमा बिपद् शाखा प्रमुख भरत महतो, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, विभिन्न वडाध्यक्ष, प्रहरी र सशस्त्र प्रहरी प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
रेन परियोजना लुम्बिनी प्रदेशका बाँके, दाङ र कपिलवस्तुका ९ पालिकामा कार्यान्वयनमा आएको छ। यसमा डिसिएले सहनेतृत्वको भूमिका निर्वाह गर्ने पिपुल इन निडका संयोजक संजिव श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button