तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज चिनी कारखानाको आवास क्षेत्र तीन दशकदेखि बिचौलियाको कब्जामा

बीरगंज। झण्डै ३ दशक देखि बन्द रहेको नेपालकै ठूलो चिनी कारखानाको रुपमा रहेको बीरगंज चिनी कारखानाको आवास क्षेत्रमा रहेका आवास गृहहरूमा बिचौलियाहरूले कब्जा जमाएका छन् ।

बीरगंज चिनी कारखाना सञ्चालनमा रहँदाको बेला आवास क्षेत्रमा लगभग ६ सय जना भन्दा बढी कर्मचारी तथा मजदुरहरू बस्दै आएका थिए । 

कारखाना बन्द भएपछि आवास क्षेत्रमा बस्ने कर्मचारीहरूले आफ्ना नातागोता र चिनेजानेका व्यक्तिहरूलाई खाली रहेका कोठाहरूमा लगेर राख्ने प्रचलन शुरु भयो । आवास क्षेत्रमा रहेका दर्जनौँ भवनहरूमा ६ सय बढी कोठाहरू रहेका छन् । ती सबै कोठाहरूमा अहिले बिचौलियाहरूले कब्जा जमाएका छन् ।  

बीरगंज चिनी कारखाना सँग सरोकार राख्ने कर्मचारीको सङ्ख्या अहिले २० देखी २५ जना मात्रै रहेको छ । आवास क्षेत्रमा रहेको दर्जनौँ घरका सयौँ कोठामा पर्सा जिल्ला सहित बाहिरका जिल्लाका व्यक्तिहरू आएर बर्षौ देखि कब्जा जमाउँदा समेत सम्बन्धित निकायले कुनै चासो नलिनु आफैमा उदेकलाग्दो विषय हो । 

तत्कालीन अवस्थामा कारखानामा ९ सय २८ जना स्थायी कर्मचारीहरू काम गर्ने गरेको र बाँकी अस्थायी गरेर १२ सय कर्मचारीहरूको रोजगार सो चिनिमिलले सृजना गरेको थियो । 

कर्मचारीहरूका लागी निमार्ण गरिएको आवास क्षेत्रमा अहिले कब्जा जमाएका बिचौलियाहरूले पशुचौपाया, कुखुरापालन, बाख्रापालन समेत गरेर बस्दै आएका छन् । आवास क्षेत्रमा दुरुपयोग भएको कोठालाई नेपाल सरकारले सही व्यवस्थापन गर्ने हो भने बारा, पर्साका विपन्न तथा गरिबहरूलाई आवासको व्यवस्था हुने बुद्धिजीवीहरू बताउँछन् । 

आवास क्षेत्रका कोठालाई दुरुपयोग हुनबाट बचाई शिक्षा, स्वास्थ्य तथा सामाजिक कामका लागी सदुपयोग गर्नु पर्ने माग सर्वसाधारणको छ । अहिले बारा, पर्सा जिल्लामा वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको ८/९ सय बिगाहा भन्दा बढी जग्गा समेत रहेको छ । 

चिनी कारखानाको स्वामित्वमा रहेको अर्बौँको सम्पत्ति संरक्षणतर्फ सङ्घीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने माग वीरगन्ज बासीको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button