तपाईँ सुन्दै हुनुहुन्छः

खाल्डा पुर्दै: यात्रा सहज बनाउँदै लालझाडी गाउँपालिका

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको बेलौरी–कलुवापुर सडकखण्ड जीर्ण भएपछि लालझाडी गाउँपालिकाले आफ्नै स्रोतबाट मर्मत कार्य थालेको छ।

ढक्का क्षेत्रअन्तर्गत करिब पाँच किलोमिटर सडकमा ठाउँ–ठाउँमा खाल्डा परेकाले यात्रुहरूलाई सास्ती हुँदै आएको थियो। निर्माण कम्पनीले चासो नदेखाएपछि गाउँपालिकाले अग्रसरता लिँदै खाल्डा पुर्ने र सडक सम्याउने कार्य सुरु गरेको हो।

“स्थायी समाधान नभए पनि यात्रा केही सहज भएको छ,” यात्रु गौरव चन्द ठकुरीले भन्नुभयो, “गाउँपालिकाले देखाएको तत्परताले राहत मिलेको छ।”

सडक मर्मतका लागि पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट इन्धन सहयोग प्राप्त भएको र यन्त्र, उपकरण तथा जनशक्ति गाउँपालिकाले परिचालन गरेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार यस्तो कार्यले स्थानीय सरकारप्रतिको नागरिक विश्वास थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button