गाउँको खुसीमा दुई वटा औला गुमाएका नेत्रबहादुर !
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ को दुर्गम रिकु गाउँमा अहिले लामाबगरबाट पैदलमार्ग जोडिएको छ । दोलखाकै विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरबाट चिम्लिङको भीर कोपेर बनाइएको पैदलमार्गले रिकु जोडिएपछि अहिले स्थानीयलाई आवतजावत र किनमेलमा समेत सहज भएको छ ।
तर, लामाबगर– रिकु पैदलमार्ग निर्माणमा मजदुरी गरेका रिकुका स्थानीय ६४ वर्षीय नेत्र बहादुर खड्काले भने आफ्नो दुई वटा औला गुमाएका छन् । भीर कोपेर पैदलमार्ग बनाउन तामाकोशी पारीबाट आवश्यक सामान ल्याउन प्रयोग गरिएको तुइन तान्ने काम गरिरहेका खड्काले त्यही तुइन तान्ने क्रममा दुर्घटनामा परी दुई वटा औला गुमाएका हुन् ।

दैनिक १ हजार २ सय रुपैयाँ ज्यालादारीमा जोखिम मोलेर भीरमा तुइन तान्ने काम गर्दै आएका खड्काले २०८१ साल फागुनमा तुइन दुर्घटनामा परी दुई वटा औला गुमाएका थिए ।
“यो उमेरमा दुई वटा औला काट्नुपर्दा दुःख त लागेको छ तर, हामीजस्ता मजदुरले ज्यान जोखिममा राखेर भीरमा बाटो बनाएकोले अब रिकुका आफन्त र छिमेकीलाई आवतजावत र किनमेलमा सहज हुने भएकोले धेरै तनाव लिएको छैन”– स्थानीय नेत्र बहादुर खड्काले भन्नुभयो ।
२१ सय मिटरको उँचाइमा रहेको रिकु गाउँमा २२ घरधुरी रहेको छ । लामाबगर– रिकु पैदलमार्ग निर्माण भएपछि रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल समेत बनिरहेको रिकु गाउँ च्छो– रोल्पा जाने पर्यटकको लागि समेत मुख्य गन्तव्य बनेको स्थानीय बताउँछन् ।
तुइन तान्ने क्रममा दुर्घटना भएपछि तुइनको तारले नेत्र बहादुरको दुई वटा औलाको आधिभाग चुँडिएको थियो । त्यति बेला आफूले औला चुँडिएको पीडाभन्दा पनि तत्काल अस्पताल पुगेर रगत रोक्न सके ज्यान बच्न थियो भन्ने सोचेर हात माथि उठाएरै दोलखा अस्पतालमा उपचारको लागि पुगेको उहाँले बताउनुभयो ।

उहाँलाई उपचारको लागि पैदलमार्ग निर्माणका ठेकेदारले सहयोग गरेको थियो । तर अहिले पनि चुँडिएको औलामा समस्या हुने गरेको खड्काको भनाई छ । आर्थिक अभावले थप उपचार गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।
पैदलमार्ग निर्माणको ठेकेदार इन्द्र बहादुर थामी खड्का तत्काल उपचारको लागि आफूले सबै खर्च गरेको तर थप उपचारमा सहयोग गर्न सक्ने अवस्था भने नभएको बताउनुहुन्छ ।
भीरमा जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सबै मजदुरको बिमा गरिएको तर नेत्र बहादुर खड्काको उमेर ६० वर्ष नाघेकोले बिमा हुन नसक्दा समस्या भएको ठेकेदार इन्द्र बहादुरको भनाई छ ।
तीन किलोमिटर पैदल मार्गमा झन्डै दुई किलोमिटर जोखिमपूर्ण भीर कोपने काम सकिएको भए पनि नेत्र बहादुर बाहेक अरू कसैलाई पनि समस्या नभएको ठेकेदार इन्द्र बहादुर बताउनुहुन्छ ।
रोल्वालिङ खोला जलविद्युत आयोजनाको सहयोगमा हाई हिमालले पैदलमार्ग निर्माणको काम गरेकोले नेत्र बहादुर खड्कालाई अहिले हाई हिमालले घर नजिकै रिकु गाउँमा तुइन तान्ने काम नै दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्