मार्क्सवाद र समाजवादका सिद्धान्तहरू व्यवहारमा लागू गर्नुपर्छ : मन्त्री गुरुङ

डोलेस्वर (भक्तपुर) । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मार्क्सवाद र समाजवादका सिद्धान्तहरू व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागद्वारा भक्तपुरमा आयोजित प्रदेश प्रचार भेलामा मन्त्री गुरुङले पार्टी र सङ्गठनभित्र देखापरेका प्रमुख चुनौतीहरूको पहिचान गर्दै ती समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीभित्र बढ्दो अनुशासनहीनता, दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताका विरुद्ध कडा कदम चाल्नुपर्ने धारणा राख्नुभयो। “एमाले नीति, सिद्धान्त र सङ्गठनको दृष्टिकोणले सबल पार्टी हो, तर हार आफ्नै कमजोरीका कारण भएको हो,” मन्त्री गुरुङले स्पष्ट पार्नुभयो।

सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङले स्वार्थ केन्द्रित र मनोकेन्द्रित प्रवृत्तिहरूले दक्षिणपन्थी अवसरवादलाई बढावा दिएको बताउनुभयो। “हामीले अझै पनि सिद्धान्तअनुसार आचरण गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवादको मर्म अनुसार, जनताबाट अनुमोदित व्यक्ति मात्र नेताको भूमिकामा जानुपर्छ। स्वस्थ प्रतिस्पर्धा, सहमति र विधिको पालना अत्यावश्यक छ।”

मन्त्री गुरुङले पार्टीलाई बलियो बनाउन युवाको सहभागिता अत्यन्त आवश्यक रहेको औँल्याउनुभयो। “एमाले नै सबैभन्दा राम्रो पार्टी हो, तर यसको सही उपयोग र मूल्याङ्कन गर्न सकिएन भने यसको महत्त्व घट्छ,” उहाँले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्