तपाईँ सुन्दै हुनुहुन्छः

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बैङ्क तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा मन्त्री खड्काले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

“बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– उहाँले भन्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलो पटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत् निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताउनुभयो । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारणलाई पनि विस्तार गर्नेगरी सरकार लागिरहेको उहाँको भनाई थियो ।

मन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्ने गरी आगामी एक महिनाभित्र विद्युत् ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताउनुभयो । ऊर्जा क्षेत्रमा बाधक रहेका कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उहाँको भनाई थियो ।

मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताउनुभयो । उहाँले मध्ये चमेलिया जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । “आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाइन्छ, जति लामो समय भए त्यति व्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न होस्, शुभकामना,”– उहाँले भन्नुभयो ।

दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । उहाँले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल बैङ्कको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैङ्कले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी  डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button