गण्डकीमा तीन दिनदेखि सार्वजनिक सवारी ठप्प, यात्रुहरू अलपत्र
कास्की। गण्डकी प्रदेशमा तीन दिनदेखि सार्वजनिक यातायात सेवा पूर्ण रूपमा ठप्प हुँदा हजारौं यात्रु अलपत्र परेका छन्। पोखराबाट वुटवल जान वा फर्कन खोज्ने यात्रीदेखि स्थानीय तहमा गन्तव्य परिवर्तन गर्नुपर्ने यात्रुसमेत सवारी साधन नपाएर हैरान छन्।
पोखराकी मिना नेपालीले वुटवल गएकी छोरी र नातिको फर्किने सवारी नपाएपछि हरियो प्लेटको सवारी खोजिदिन अनुरोध गरेकी छन्। सार्वजनिक सवारी नपाउँदा धेरै यात्रु सडकमा अलपत्र परेका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा व्यवस्थापनसम्बन्धी नियमावली ल्याएपछि विरोधमा उत्रिएका सार्वजनिक सवारी व्यवसायीहरूले सवारी साधन सञ्चालन बन्द गरेका हुन्। नियमावलीअनुसार अब राइड सेयरिङ सेवा इजाजत लिएर अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गर्न पाइनेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका व्यवसायीहरूले नियमावली खारेजको माग गर्दै आन्दोलन थालेका छन्। महासङ्घ गण्डकी अध्यक्ष केदार पौडेलले सरकारको निर्णयले सार्वजनिक यातायात धरासायी हुने चेतावनी दिएका छन्।
पोखरामा हाल ६ वटा राइड सेयरिङ एप सञ्चालनमा छन्। तर नियमावलीको विरोधस्वरूप ट्याक्सी, बस र मालवाहक सेवा पूर्ण रूपमा बन्द छ। व्यवसायीहरूले १६ गतेदेखि गण्डकीमा र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्