तपाईँ सुन्दै हुनुहुन्छः

घर फर्किएका २३ जना क्वारेन्टाइनमा

दोलखा । काठमाडौँबाट घर फर्किएका दोलखा कालिञ्चोक गाँउपालिकाका २३ जनालाई सिंगटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

नौ जनाको पास लिएर माईक्रोबसमा २३ जना आएको पाइएपछि उनीहरुलाई आइतबार राती खरीढुङ प्रहरी चौकीले नियन्त्रणमा लिएर कालिञ्चोक गाँउपालिकाको जिम्मा लगाएर छोडिदिएको थियो ।

मंगलवार चार बालबालिकासहित २३ जनालाई सिंगटीस्थित प्रताप स्मृति कलेजमा गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा खाने सुविधासहित राखिएको गाँउपालिका प्रमुख बिनकुमार थामीले बताउनुभयो ।

उनीहरु मध्ये एक जना दुई साता अघि भारतबाट काठमाडौँ आएको र बाँकी सबै काठमाडौँबाटै आएको गाँउपालिका प्रमुख थामीले बताउनुभयो । उनीहरुको स्वास्थ्यमा भने कुनै समस्या नभएको अध्यक्ष थामीको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड उनीहरुलाई अनुसार क्वारेन्टाइनमा राखिने र नियमित स्वास्थ्य परिक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो ।

क्वारेन्टाइनमा राखिएका २३ जनामा कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ लामिडाँडाका पाँच जना, वडा नम्बर ५ लापिलाङका छ जना, वडा नम्बर ६ लापिलाङका सात जना, वडा नम्बर ९ सुन्द्रावतीका तीन जना तथा दोलखा तामाकोसी गाँउपालिकाका एक जना र नुवाकोट जिल्लाका एक जना रहेको गाँउपालिका उपप्रमुख कालिका पाठकले बताउनुभयो ।

मेलुङ गाँउपालिकाका दुई जना सुरक्षित आवासमा
दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ७ का दुई जनालाई पनि क्वारेन्टाइन (सुरक्षित आवास) मा राखिएको छ ।

वडा नम्बर ७ मा विदेशबाट आएको दुई वटा घरमा गाँउपालिकाको निर्णय अनुसार रातो झण्डा गाडिएको तर उनीहरु १४ दिन नपुग्दै खुलेआम बाहिर हिडडुल गर्न लागेपछि वडाको पहलमा सेतीदेवी प्राविमा निर्माण गरिएको सुरक्षित आवासमा राखिएको वडा अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो ।

त्यसरी राखिएकाहरुलाई वडाले नै खाने व्यवस्था गरेको र स्वास्थ्यकर्मीहरुले नियमित स्वास्थ्य परिक्षण समेत गरिरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । हालसम्म उनीहरुको स्वास्थ्यमा भने कुनै समस्या नभएको वडा अध्यक्ष खड्काको भनाई छ ।

मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ भने उनीहरुलाई क्वारेन्टाइनमा राख्न आवश्यकनै नभएको बताउनुहुन्छ । गाँउपालिकामा स्वास्थ्यकर्मीसहितको मापदण्ड अनुसारको क्वारेन्टाइन नभएकोले उनीहरुलाई नामको मात्र क्वारेन्टाइनमा राख्न जरुरी नभएको प्रमुख श्रेष्ठको भनाई छ ।

१४ दिनसम्म बाहिर जान नदिएर उनीहरुलाई आफ्नै घरमा राख्दा सुरक्षित रहने प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button