तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक हर्दिनाथ पोखरीको जीर्णोद्धार शुरु 

जनकपुरधाम । जनकपुरधामको वडा नंं १६ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको हर्दिनाथ पोखरीको संरक्षणको काम आजबाट शुरु भएको छ । 

सशर्त अनुदान अन्तर्गत प्राप्त भएको ५० लाख रकमबाट जनकपुरधाम उपमहानगरपालिकाको संरक्षण, रेखदेखमा घाटको निर्माण शुरु गरिएको हो  । 

पोखरीको घाट निर्माणको शिलान्यास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले एक कार्यक्रमका बीचमा आज गर्नु भएको छ । 

शिलान्यासँंगै पोखरीको निर्माणले गति लिएको छ । करिब ५० मिटरमा पोखरीको घाटको निर्माण गरिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको कपिलेश्वरनाथ महादेव मन्दिर गुठी अधिनस्त रहेको सार्वजनिक पोखरीको पानी भाग एक विगाह क्षेत्रफल रहेको सो वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनुभयो । 

यसै आर्थिक वर्षमा पोखरीको घाट निर्माण गरिने छ । पोखरीको घाटको निर्माण भएपछि सार्वजनिक कार्यक्रम, छठ पूजासहितका धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ । 

जनकपुरधामको कपिलेश्वरको विकास तथा विस्तारमा विशेष योगदान दिनुभएका बाबा हर्दिनाथको नाममा पोखरी रहेको छ । उक्त पोखरीमा स्नान गर्नाले शरीरमा लाग्ने सबै प्रकारको घाउ, खटिरा तथा सबै प्रकारका चर्म रोगहरू निको हुने जनविश्वास छ । कपिलेश्वरवासीको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्नमा घाट निर्माणले ठूलो मद्दत पुग्ने विश्वास स्थानीयको रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button