विशेष आर्थिक क्षेत्र सञ्चालनले गति लियो, ६ अर्बभन्दा बढीको लगानी
१० महिनाको अवधिमा सेजबाट मात्रै करिब २ अर्ब बराबरको निर्यात

काठमाडौँ । लामो समयको तयारी र विविध कठिनाइहरूका बीच नेपालका दुई विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र सिमरा सञ्चालनको चरणमा पुगेका छन् ।
हाल सञ्चालन निर्माणको प्रक्रियामा रहेका विशेष आर्थिक क्षेत्रहरूमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १७ वटा उद्योग सञ्चालन भएका छन् ।
हालसम्म ती दुवै विशेष आर्थिक क्षेत्रमा ६ अर्बभन्दा बढीको लगानी भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सेजबाट मात्रै करिब २ अर्ब बराबरको निर्यात भएको छ ।
देशमा रोजगारीका अवसरहरू सिर्जना गरी स्रोतको दिगो उपयोगमार्फत समानुपातिक रूपमा क्षेत्रीय विकास गर्न र निर्यातमुखी उद्योगहरूलाई आकर्षित गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन सरकारले विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रिया सुरु गरेको थियो ।
वि सं २०६० मा स्थापना भई निर्माण सुरु भएको विशेष आर्थिक क्षेत्रमा २०८२ सम्ममा आइपुग्दा बल्ल निर्माण र सञ्चालनको कामले केही गति लिएको छ । १३ वटा उद्योगहरू निर्माणाधीन अवस्था रहेका छन् भने १७ वटा उद्योगहरूले पूर्वाधार निर्माणको सम्झौता गरेर काम अघि बढाएका छन् । त्यसैगरी १० उद्योगहरूले अनुमति लिएर काम अघि बढाएका छन् । भैरहवाको विशेष आर्थिक क्षेत्र ५२ बिगाहा क्षेत्रफलमा फैलिएको छ । जहाँ उद्योगहरूका लागि भनेर ६८ वटा पल्टहरु छुट्टयाइएको छ ।
त्यसैगरी सिमरामा रहेको विशेष आर्थिक क्षेत्र ८ सय ३३ बिगाहा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ पनि ६८ वटा नै औद्योगिक पल्टहरु रहेका छन् । दुवै स्थानमा उद्योगहरूले लिएका पल्टको सङ्ख्या फरक फरक रहेको छ । कुनै कुनै उद्योगले बढीमा ८ वटासम्म औद्योगिक प्लटहरू लिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।
भैरहवास्थित सेजमा उद्योगहरूको अवस्था
भैरहवा सेजमा हाल १० वटा उद्योगहरूले उत्पादन गरी स्वदेश तथा विदेशमा वस्तु निर्यात गरेका छन् । ती उद्योगहरूमा लिड लाइट उत्पादन गर्ने, स्टिलका भाडा बनाउने, स्टिल ट्याङ्की बनाउने, फर्नेस आयल उत्पादन गर्ने, ब्याट्री रिसाकल गर्ने तथा डेलामाइट उत्पादन गर्ने तथा जडीबुटी औषधि उत्पादन गर्ने लगायतका उद्योगहरू रहेको भैरहवा सेजले जनाएको छ ।
पछिल्लो पटक विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनमा गरिएको संशोधनपछि विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्ने क्रम बढेको र धेरै उद्योगीहरू उद्योग स्थापना गर्न इच्छुक रहेर सम्पर्कमा आइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक इ.छत्रबहादुर कटुवालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा भैरहवा सेजमा उत्पादन भएका १ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ बराबरका वस्तुहरू विदेश निर्यात भएका छन् । त्यहाँ उत्पादित वस्तुहरू मध्ये सबैभन्दा धेरै स्टिलका भाँडाहरू र लिड लाइट निर्यात भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सागर शिलवालले जानकारी दिनुभयो ।
भैरहवा रहेको स्टिलको भाँडा बनाउने उद्योग भिस्टारले हाल ९० प्रतिशत उत्पादन विदेश निर्यात गर्दै आएको छ । त्यस्तै ब्रिलियन्ट लाईटले ३० प्रतिशतभन्दा बढी उत्पादनहरू विदेश निर्यात गर्ने गरेको छ ।
भैरहवा सेजमा २ अर्ब लगानी, ६ सय जनालाई रोजगारी
भैरहवा सेजमा मात्र विभिन्न उद्योगहरूमा गरी करिब २ अर्ब लगानी भएको छ । त्यहाँ स्थापना भएका उद्योगहरूमा करिब ६ सय जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसमा पनि उच्च दक्ष काममा विदेशी खास गरी भारतीय कामदारहरू छन् भने अन्य ससाना काममा नेपालीहरूले रोजगारी पाएका छन् । भैरहवा सेजमा हाल सुनचाँदीका गहना निर्माण तथा गलैँचा उत्पादन गर्ने उद्योगले पनि पूर्वाधार निर्माण गरिएको भैरहवा सेजले जनाएको छ ।
भैरहवा सेजबाट करिब ६ अर्बको निर्यात
आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८१/०८२ को हालसम्म भैरहवा सेजमा स्थापित विभिन्न उद्योगहरूबाट ५ अर्ब ५९ करोड रुपैयाँका विभिन्न वस्तुहरू निर्यात भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा भैरहवा सेजबाट १ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ बराबरका वस्तुहरू निर्यात भएका छन् । यस अघि आर्थिक वर्ष २०८०/०८१मा भैरहवा सेजले १ अर्ब ५ करोड बराबरका वस्तु निर्यात गरेको थियो ।
सिमरा सेजको अवस्था र उत्पादन
सिमरा सेजमा हालसम्म विभिन्न ७ वटा उद्योगहरूले उत्पादन गरी निर्यात गरिरहेका छन् । त्यहाँ हाल ८ वटा उद्योगहरू निर्माणाधीन अवस्थामा रहेका छन् । १२ वटा कम्पनीहरूले सम्झौता गरेका छन् भने ५ वटाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् ।
सिमरा सेजलाई तयारी पोसाकको उत्पादन र निर्यातको केन्द्रको रूपमा विकास गर्ने गरी स्थापना गरिएको भए पनि हाल त्यहाँ टायल, ग्रेनाइट, बाल्ट्रा कम्पनीका विभिन्न उत्पादन गर्ने उद्योग तथा जुता र तयारी पोसाक, ई रिक्सा तथा गाडी उत्पादन जस्ता उद्योगहरू स्थापना भएको सिमरा सेजले जनाएको छ ।
त्यहाँ पोटास मल बनाउने कम्पनी तथा स्टिलका भाडा बनाउने उद्योग पनि स्थापना भएका छन् । त्यहाँ स्थापना भएको बाल्ट्रा कम्पनीले उत्पादित सबै सामान भारत निर्यात गर्दै आएको छ ।
सिमरामा स्थापित उद्योगमा ४ अर्ब बढीको लगानी
हालसम्म सिमरामा स्थापित उद्योगहरूमा ४ अर्बभन्दा बढीको लगानी भएको छ । सिमरा सेज सम्पूर्ण रूपमा सञ्चालनमा आएपछि २० हजार जनालाई रोजगारी दिने लक्ष्य रहेको भए पनि हालसम्म १ हजारभन्दा बढीले रोजगारी पाएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले बताउनुभयो । सिमरा सेजबाट चालु आर्थिक वर्षको पछिल्लो ४ महिनाको अवधिमा २ करोड ४३ लाख बराबरका वस्तुको निर्यात भएका छन् ।
सेजमा स्थापित उद्योगहरूले पहिलो वर्ष नै निर्यात गर्नु पर्ने बाध्यता हटेको छ । निर्यात गर्नु पर्ने मात्रा पनि घटेर ३० प्रतिशत मात्रै गरे हुने भएको छ । तर निर्यात गर्न चाहने उद्योगहरूले भने सुरुदेखि निर्यात गर्न सक्छन् । स्थापनाको ३ वर्षसम्म उद्योगहरूले आन्तरिक बजारमा वस्तु बिक्री गर्न सक्ने व्यवस्था ऐनमा रहेको छ । तर त्यस अवधिमा निर्यात गर्दा पाउने सुविधा भने उनीहरूले पाउँदैनन् । सेजमा स्थापित उद्योगहरूले ३ देखि ५ वर्षसम्ममा आफ्नो उत्पादनको १५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ । ५ वर्षपछि भने ३० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ ।
विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाको लागि अनुमति पत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रुपैयाँ र विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी प्रचलित कानुन बमोजिम तोकिएको विदेशी लगानीको न्यूनतम सीमामा नघट्ने गरी त्यस्तो उद्योगमा स्थिर पुँजी लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्