‘नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित भइरहेको बताउनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिनेसमेत बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउँदै सुशासन, पारदर्शीता र सुदृढीकरणमा जोड दिनुभयो ।
त्यसैगरी, राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकारात्मक रहेको बताउनुभयो । खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले खेलकुदका समस्या समाधानका लागि समयसमयमा यस्तो कार्यक्रम जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल सङ्घका आर्थिक स्रोत, अन्तर्राष्ट्रिय सङ्घ/महासङ्घबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेटबारे कार्यपत्र पेस गर्नुभएको थियो ।
एकदिने उक्त कार्यक्रममा सहभागीले दसौँ राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखापरीक्षण, पेस्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामग्रीलगायत विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्