पिएसबीको ब्यूरो कार्यालय जनकपुरधाममा खोल्ने सम्झौता
जनकपुरधाम । मधेश प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच मधेश प्रदेशको राजधानी जनकपुरधाम मधेश भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मधेश ब्युरो कार्यालय सञ्चालन गर्ने सम्बन्धि सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

मधेश प्रदेश सरकारले प्रयोग गर्दै आएको कवर्ड हलसंगैको ४ कोठामा सार्वजनिक सेवा प्रसारण नेपालको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको संरचना निर्माण गरेर यसै ठाउँबाट विभिन्न प्रकारको प्रसारण सामाग्रीहरूको उत्पादन गरेर रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबास तथा नेपाल टेलिभिजनको इटहरीबाट प्रसारण केन्द्रबाट प्रसारण गरिने गरि सम्झौता भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थितिमा दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो ।
सम्झौता पत्रमा मधेश प्रदेश सरकारका तर्फबाट गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मधेश प्रदेश बर्दिबास कार्यालयका प्रमुख राम पुकार रामले हस्ताक्षर गर्नुभएको छ ।

मधेश प्रदेश सरकारको सम्पूर्ण गतिविधिका बारेमा समाचार, कार्यक्रम सहितका अन्य सामाग्रीहरूको उत्पादन यसै ठाउँबाट हुनुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणका अतिरिक्त केन्द्रीय प्रसारणमा प्रभावकारी सम्प्रेषण मधेश भवनबाटै हुने भएको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको मधेश ब्युरो कार्यालय मधेश भवनबाट सञ्चालन हुनु गर्भको विषय भएको बताउँदै यस संस्थाले सरकार र जनता बीचको पुलको काम गर्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले मधेश प्रदेश सरकारको सानो सहयोगमा प्रदेशको गतिविधि , केन्द्र, देश तथा विश्व भरिका आम जनतामा पुर्याउनका लागि रेडियो नेपाल तथा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण भएको र अगामी दिनमा थप प्रभावकारी बन्ने आशा व्यक्त गर्नु भयो ।
उहाँले गृह, सञ्चार तथा कानून मन्त्रालयको थोरै बजेट भएका कारण पत्रकार तथा सञ्चार जगतलाई चाहिने जतिको सहयोग गर्न नसकेका कारणले यस पटक सञ्चार मन्त्रालयलाई थप बजेट दिने बताउनुभयो ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकारको सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना हुनु गर्बको विषय भएको बताउँदै यसबाट मधेशका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने आशा व्यक्त गर्नुभयो ।
सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक सेवा प्रसारण नेपालको भौतिक उपस्थितिले यस प्रदेशको गतिविधिहरू अझ बढी जनतामा माझ प्रवाहित हुने बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रसारण नेपालले जनताको बोली बोल्ने भएकाले सरकारले पनि जनताका लागि काम गर्ने भएकाले सरकारको गतिविधि जनतासमक्ष ब्युरो कार्यालयबाट प्रभावकारी किसिमले पुग्ने बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका मधेश प्रदेशका कार्यालय प्रमुख रामपुकार राम, नेपाल टेलिभिजनका इटहरी कार्यालय प्रमुख बसन्त रुपा खेती र रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झाले सार्वजनिक सेवा प्रसारण नेपालका दुई संस्थाको स्टुडियो सहितको ब्युरो कार्यालयले प्रदेशका गतिविधि जनता समक्ष थप प्रभावकारी बन्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्