लोडसेडिङको हल्ला निराधार : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताउनुभएको छ । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको बताउनुभयो ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताउनुभयो । उहाँले भारतबाट ३५० मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा वर्षा शुरु भएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताउनुभयो । मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत् पुग्ने गरी आपूर्ति भइरहेको बताउनुभयो ।
मङ्गलवार मध्य रातीदेखि भारतमा ७सय ३१ मेगावाट विद्युत् बिक्री सुरु गरिसकिएको प्राधिकरणले पुष्टि गरेको छ ।
मन्त्री खड्काका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।
प्रतिक्रिया राख्नुहोस्