शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि आज सांसदहरुले धारणा राख्नुभएको छ ।

समितिको आजको बैठकमा सांसदहरु धनराज गुरुङ, विद्या भट्टराई, रेखा शर्मा, डा. कालुराम राई, सुमना श्रेष्ठ, दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी लगायतले आन्दोलनको दबाबमा कानून बनाउन नहुने भन्दै लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐनका लागि अझै मिहिन ढङ्गले छलफल गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले सरकार र आन्दोलनरत शिक्षकहरूसँगको सहमतिमा विद्यालय कर्मचारीहरू असन्तुष्ट देखिएकाले सरकारले विद्यालय कर्मचारी र अभिभावक महासङ्घसँग छलफल गरेर उनीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सांसदहरुले विद्यार्थी पढ्ने स्थानको भौतिक र मानवीय पूर्वाधार निकै कमजोर रहेकाले कानुनमै त्यसको सम्बोधन गरिनुपर्ने, विद्यार्थीहरूले कक्षा १२ को परीक्षा दिने उमेर तोकिनुपर्ने, शिक्षक सेवा प्रवेशको उमेर महिला र पुरुषका लागि ४० वर्ष तोकिनुपर्ने र गुठीले सञ्चालन गरेका विद्यालय व्यवस्थापनका लागि थप छलफल गरिनुपर्ने बताउनुभयो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लगातार छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउन समितिलाई सुझाव दिनुभयो ।
समितिका सभापति अम्मरबहादुर थापाले पहिलो चरणमा उपसमितिको प्रतिवेदनमाथि सांसदहरुले सामान्य धारणा राखेपछि विधेयकमाथि निरन्तर दफावार छलफल गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्